झापा, ८ असोज । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै ‘सिरिज २०२५’ अन्तर्गतको नयाँ १ हजार रुपैयाँको नोट शुक्रबारदेखि प्रचलनमा ल्याइएको जनाएको हो । नयाँ नोट साविककै आकारमा रहे पनि रङ तथा केही सुरक्षण विशेषतामा परिवर्तन गरिएको छ ।

नयाँ नोटको अग्रभाग बैजनी रङको घेराभित्र फिक्का हरियो रङमा तयार गरिएको छ । अग्रभागमा नेपालको पहिचानका रूपमा सगरमाथाको चित्र राखिएको छ । त्यस्तै, लालीगुराँसको पानीछाप तथा ‘१०००’ अंकित पानीछापसमेत समावेश गरिएको छ ।
दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखाहरू राखिएका छन् । नोटमा सुरक्षणका लागि सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र राखिएको छ ।
त्यस्तै, सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान विशेषतायुक्त सुरक्षण धागो पनि नोटमा समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको दस्तखत रहेको छ ।
पृष्ठभागमा जुम्ल्याहा हात्तीको चित्र
नोटको पृष्ठभागमा चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने राम र लक्ष्मण नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ ।
नेपालका सात प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातवटा लालीगुराँसका चित्र पनि नोटमा समावेश गरिएको छ । यसले देशका सात प्रदेशलाई सांकेतिक रूपमा प्रतिनिधित्व गर्ने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, नोटको पृष्ठभागमा काठमाडौँको हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति पनि राखिएको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटको डिजाइनमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँगै आधुनिक सुरक्षण प्रविधिलाई समेत समेटिएको छ।



