
भोजपुर, ९ असोज । भोजपुरका ग्रामीण क्षेत्रका किसानलाई यतिबेला ‘कालो सुन’का रूपमा चिनिने अलैँची टिप्न, केलाउन र सुकाउन भ्याइनभ्याइ छ। भदौदेखि कात्तिकसम्म अलैँची टिप्ने मुख्य सिजन भएकाले किसानको दैनिकी बगान र भट्टीमै बित्ने गरेको छ।
परिपक्व अलैँची समयमै नटिप्दा वन्यजन्तुले क्षति पुर्याउने तथा झरेर गुणस्तर घट्ने जोखिम भएकाले किसान बिहानैदेखि समूह बनाएर बगानमा जाने गरेका छन्। पौवादुङमा–५ का किसान टेकेन्द्र राईले आठ रोपनी बगानबाट यस वर्ष करिब तीन मन अलैँची उत्पादन भएको बताए। गाउँघरमै प्रतिमन ९४० किलो० करिब ८० हजार रुपैयाँमा अलैँची बिक्री भइरहेको उनले जानकारी दिए।
तल्लो तथा बेँसी क्षेत्रमा अलैँची केलाउने र सुकाउने काम अन्तिम चरणमा पुगेको छ भने माथिल्लो तथा कछाड क्षेत्रमा टिपाइ सुरु हुन लागेको किसानले बताएका छन्।
भोजपुरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत अलैँची सुपर जोन सञ्चालनमा छ। जोन प्राविधिक एकाइका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये सात स्थानीय तहका ३५ वडा सुपर जोन कार्यक्रममा समेटिएका छन्।
सरकारी तथ्याङ्कअनुसार भोजपुरमा करिब ५९७ हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँची खेती भइरहेको छ। षडानन्द, टेम्केमैयुङ, पौवादुङमा, आमचोक, अरुण र साल्पासिलिछो अलैँचीका प्रमुख पकेट क्षेत्र हुन्।
रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँची यहाँ बढी उत्पादन हुने गरेका छन्। बजार मूल्यमा सुधार आएपछि अलैँचीखेतीप्रति किसानको आकर्षणसमेत बढेको छ।


