
झापा, ९ असोज । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौँ आवतजावत गर्ने तीन प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा पहिरो खसेपछि यातायात ठप्प भएको हो।
धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरसहित सात स्थानमा गएराति ढुंगासहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुमित खड्काका अनुसार पहिरोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
बिहीबार साँझदेखि नै पृथ्वी राजमार्गमा रातको समयमा आवागमन रोकिएको थियो। शुक्रबार बिहानदेखि यातायात सञ्चालन गर्ने तयारी भए पनि थप पहिरो खसेपछि अनिश्चितकालका लागि सडक बन्द भएको प्रहरीले जनाएको छ।
पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि निरन्तर वर्षाका कारण सडक खुलाउन समस्या भइरहेको एसपी खड्काले बताए।
यसअघि भदौ १४ गते त्रिशूली नदीको कटानका कारण कृष्णभिर क्षेत्रमा सडक भासिएपछि करिब दुई सातामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। अहिले सोही डाइभर्सनलगायतका क्षेत्रमा समेत पहिरो खसेको प्रहरीले जनाएको छ।
बीपी राजमार्गमा दुई स्थानमा पहिरो
बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा शुक्रबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि बिहीबारदेखि नै बीपी राजमार्गको काभ्रे खण्डमा रातको समयमा सवारी आवागमन रोकिएको थियो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।
कान्तिलोकपथ पनि बन्द
पहिरो खसेपछि काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथमा समेत यातायात पूर्णरूपमा रोकिएको ललितपुर प्रहरीले जनाएको छ।
निरन्तर वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरो तथा ढुंगा खस्ने जोखिम रहेकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा मौसमको अवस्था हेरेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।


