
झापा, ९ असोज । नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ बनेर आएका राहदानी (पासपोर्ट) सम्बन्धित आवेदककै ठेगानामा डेलिभरी गर्ने व्यवस्था सुरु गरेको छ ।
महावाणिज्यदूतावासले शुक्रबार सूचना जारी गर्दै राहदानी लिन कार्यालयमै आउनुपर्ने बाध्यता हटाउन इमिरेट्स पोष्टमार्फत घरमै डेलिभरीको व्यवस्था गरिएको जनाएको हो । राहदानी लिनकै लागि कार्यालय आउँदा छुट्टी मिलाउनुपर्ने, समय तथा यात्रा खर्च लाग्ने भएकाले सेवाग्राहीबाट हुलाकमार्फत राहदानी पठाउने व्यवस्था गर्न माग हुँदै आएको थियो । सोही मागअनुसार नयाँ सेवा सुरु गरिएको दूतावासले जनाएको छ ।
अब महावाणिज्यदूतावासमा राहदानीका लागि आवेदन दिने सेवाग्राहीले बायोमेट्रिक दिने समयमा नै डेलिभरी फाराम भरेर बुझाउनुपर्नेछ । राहदानी तयार भएर आएपछि महावाणिज्यदूतावासले इमिरेट्स पोष्टमार्फत सम्बन्धित आवेदकको ठेगानामा पठाउनेछ ।
इमिरेट्स पोष्टले राहदानी डेलिभरी गर्दा सेवाग्राहीले १५ दिराम डेलिभरी शुल्क तथा ५ प्रतिशत भ्याटसहित १५.७५ दिराम बुझाउनुपर्नेछ । महावाणिज्यदूतावासका अनुसार घरमै राहदानी प्राप्त गर्ने सेवा स्वैच्छिक हो । कार्यालयमै आएर राहदानी लिन चाहने सेवाग्राहीले यो सेवा लिन अनिवार्य हुने छैन । घरमै राहदानी प्राप्त गर्न इच्छुक सेवाग्राहीले मात्र डेलिभरी सुविधा प्रयोग गर्न सक्नेछन् ।


