
झापा, ९ असोज । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाममा कार्यरत प्रहरी निरीक्षक दिवश रिमाललाई २०८३ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।
विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल, व्यावसायिकता र कर्तव्यनिष्ठाका साथ कार्यसम्पादन गरेको भन्दै रिमाललाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
भदौ ५ गते इलाम नगरपालिका–७, कुलधारास्थित कुवेरप्रसाद शर्माको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सोही स्थानका ४७ वर्षीय रामसी डोम ट्याङ्कीभित्र अचेत अवस्थामा रहेको सूचना प्रहरीले पाएको थियो ।
सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक रिमालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । उद्धारका क्रममा रिमाल आफैं जोखिम मोलेर सेफ्टी ट्याङ्कीभित्र प्रवेश गरी अचेत अवस्थामा रहेका डोमलाई सकुशल बाहिर निकालेका थिए ।
प्रहरी कार्यालयका अनुसार जोखिमपूर्ण अवस्थामा समेत तत्काल उद्धारमा खटिएर नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै रिमालले आफ्नो जिम्मेवारी अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ ढंगले निर्वाह गरेका छन् ।
उच्च मनोबलका साथ कार्यसम्पादन गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउन तथा प्रहरी संगठनको गरिमा अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको मूल्याङ्कन गर्दै उनलाई भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


