
झापा, ९ असोज । सप्तकोशी नदीमा पानीको बहाब बढेसँगै कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएको छ। पानीको सतह बढेपछि ब्यारेजलाई ‘रेड अलर्ट’ अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले जानकारी दिएका छन्।
उनका अनुसार अहिले कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक पानीको बहाब मापन गरिएको छ। नदीमा पानीको बहाब निरन्तर बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
यद्यपि अघिल्लो वर्ष सप्तकोशीमा ५ लाख क्युसेकभन्दा बढी पानीको बहाब मापन भएको थियो। यसपटक पनि पानीको बहाब बढिरहेको अवस्थामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेज क्षेत्रमा निगरानी बढाइएको छ।
हालसम्म कोशी पुलबाट हुने सवारी आवागमन भने रोकिएको छैन। पुलमा सवारी सञ्चालन भइरहे पनि नदीको बहाब थप बढेमा अवस्था परिवर्तन हुन सक्ने भएकाले सम्बन्धित निकायले निरन्तर निगरानी गरिरहेको जनाइएको छ।
मौसम विज्ञान विभागले सप्तकोशी नदीमा पानीको बहाब बढ्दो क्रममा रहेको जनाएको छ। विभागले नदीको तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी नदी आसपासका बस्ती तथा डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई नदीको अवस्था र सरकारी निकायबाट जारी हुने सूचनामा ध्यान दिन आग्रह गरिएको छ।
पानीको बहाब बढ्दै गएमा तल्लो तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले आवश्यक तयारी र निगरानीलाई प्राथमिकता दिएका छन्।


