
झापा, १० असोज । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको बलियो न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना छ।
उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर अधिकांश बदली भएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमतीका केही र कोशी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा र कोशी तथा बागमतीका हिमाली–पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका अधिकांश स्थान तथा मधेस, कोशी, बागमती र गण्डकीका तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
राति पनि वर्षा, लुम्बिनी र सुदूरपश्चिममा अति भारीको जोखिम
आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ भने कोशी र मधेसमा सामान्यतया बदली रहनेछ।
रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमतीका हिमाली–पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
वर्षासँगै सम्भावित बाढी, पहिरो, डुबान तथा हावाहुरीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।


