
बारा, १० असोज । बाराको कोल्हवीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने उनलाई बचाउने क्रममा चार जना घाइते भएका छन्।
कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा घरमा टेलिभिजन चलाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए।
करेन्ट लागेर गम्भीर घाइते भएका आकाशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर, चिकित्सकले इसिजी परीक्षण गर्दा अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
करेन्ट लागेका बालकलाई छुटाउने क्रममा उनकी ७० वर्षीया हजुरआमा ऐतबरिया देवी, १२ वर्षीया दिदी निलम तथा छिमेकी ४० वर्षीया फूलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा घाइते भएका छन्।
प्रहरीका अनुसार ऐतबरिया देवी, फूलकुमारी राम र अनिता शर्माको कोल्हवीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको छ। निलमको भने कोल्हवीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


