
धरान, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ। कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट किसान र व्यापारी खसीबोका खरिद–बिक्रीका लागि धरान आउने गरेका छन्।
बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सामान्य अवस्थामा सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन्। दसैँ, तिहारजस्ता चाडपर्वका बेला यो संख्या बढेर सातामा १० हजारभन्दा बढी पुग्ने गरेको छ।
आर्थिक वर्ष २०८२र८३ मा बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब तीन अर्ब रुपैयाँको कारोबार भएको समितिले जनाएको छ। अघिल्लो वर्षको चाडपर्वमा मात्रै करिब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
भट्टराईका अनुसार यस वर्ष खसीबोकाको कारोबार अघिल्लो वर्षको तुलनामा करिब १५ प्रतिशतले बढिसकेको छ। बिहीबार र शुक्रबार विशेष रूपमा खसीबोकाको बजार लाग्ने गरेको छ।
धरान–१४ का दलबहादुर कथायले १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आएका छन्। यस्तै, मोरङको कानेपोखरीका चन्द्र खड्काले २३ वर्षदेखि व्यवसाय गर्दै आएको र एकपटकमा १०० देखि १५० वटासम्म खसीबोका खरिद गर्ने गरेको बताए। धरानबाट खरिद गरिएका खसीबोका काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायत सहरमा बिक्री हुने गरेका छन्।


