
बुद्धशान्ति, १७ असोज । पत्रकार तथा सञ्चारकर्मीबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले बुद्धशान्ति प्रेस क्लब झापाले आयोजना गर्न लागेको दोस्रो संस्करणको बुद्धशान्ति–१ झापा मिडिया कप–२०८३ को तयारी तीव्र पारिएको छ।
आगामी असोज २४ र २५ गते बुद्धशान्ति–१, बुधबारेस्थित बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
शनिबार बुद्ध आदर्श माविको खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक नारायण अर्यालले प्रतियोगिताको तयारी भइरहेको जानकारी दिए। उनका अनुसार प्रतियोगितामा झापाका विभिन्न पालिकास्तरमा रहेका प्रेस क्लबका टोलीहरूको सहभागिता रहनेछ।
प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले अघिल्लो संस्करणको तुलनामा यस वर्ष पुरस्कार राशि वृद्धि गरिने जानकारी दिए। पहिलो संस्करणमा विजेता टोलीले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।
यस वर्ष पनि बुद्धशान्ति गाउँपालिका–१ प्रतियोगिताको मुख्य प्रायोजक रहने भएको छ। आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
पत्रकार सम्मेलनमा बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले, नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका पूर्वअध्यक्ष आनन्द गौतम, वरिष्ठ पत्रकार गणेशमान मुखियालगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए।
प्रेस क्लब अध्यक्ष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा खेल संयोजक अर्यालले प्रतियोगिताको तयारी र खेलसम्बन्धी विषयमा जानकारी दिएका थिए। कार्यक्रम क्लबका सचिव रोशन भट्टराईले सञ्चालन गरेका थिए।


