
झापा, १८ असोज । झापाको बिर्तामोड नगरपालिका–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभाअन्तर्गत इकाइगत साधारणसभा सम्पन्न भएको छ ।
संस्थाले खुदुनाबारी, शनिश्चरे र सितली सेवा केन्द्रका शेयर सदस्यलाई लक्षित गरी शनिबार अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीस्थित जनता माध्यमिक विद्यालयको सभाहलमा इकाइगत साधारणसभा आयोजना गरेको हो । संस्था सञ्चालक समितिका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन अर्जुनधारा–३ का कार्यवाहक वडाध्यक्ष नारायणप्रसाद चापागाईंले गरेका थिए ।
कार्यक्रममा अध्यक्ष भट्टराईले आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदनअनुसार संस्थाका ४४ वटा सेवा केन्द्र र ७१ हजार २४६ शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पूँजी ३७ करोड ३९ लाख ४ हजार ५ सय रुपैयाँ, बचत २ अर्ब ५६ करोड ९० लाख ७० हजार ८ सय ४ रुपैयाँ २५ पैसा र लगानी २ अर्ब ९२ करोड ५० लाख ५४ हजार ९ सय १ रुपैयाँ १४ पैसा रहेको छ ।
त्यस्तै, संस्थाको जगेडा तथा अन्य कोषमा ३४ करोड १९ लाख ९६ हजार ९ सय ६४ रुपैयाँ ७४ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । सभामा असल ऋणीतर्फ खुदुनाबारी सेवा केन्द्रका ललितकुमार राई, शनिश्चरेका टीकाराम रम्तेल र सितलीका सावित्रा राईलाई सम्मान गरिएको थियो । उत्कृष्ट बचतकर्तातर्फ खुदुनाबारीकी सविना दाहाल ओझा, शनिश्चरेकी वेदमाया थापा र सितलीकी सुनिता शाह सम्मानित भए ।
समितिका सचिव इन्द्रबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन आन्तरिक लेखा परीक्षण सहायक ध्रुवकुमार दवाडीले गरेका थिए । संस्थाका आईटी सहायक विजय पाण्डेका अनुसार साधारणसभाको मूल माइन्युट प्रमाणित सभा असोज २३ गते बिर्तामोडमा आयोजना हुनेछ ।


