झापा, १८ असोज । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ। शुक्रबार बढेको सुनको भाउ आज तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको थियो।

गत साताको सोमबार र मंगलबार गरी दुई दिनमा भने सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ६० रुपैयाँले घटेर ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ४ सय ५० रुपैयाँ थियो।
नेपाली बजारमा सुनको मूल्य यसअघि माघ १५ गते तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। उक्त मूल्य नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि यसअघि ठूलो उतारचढाव देखिएको थियो। माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। एकै दिनमा भएको यो गिरावट हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ।
यसअघि माघ १५ गते चाँदीको मूल्य तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। उक्त मूल्य चाँदीको हालसम्मकै उच्च मूल्य हो।



