
झापा, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको भन्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान राजनीतिक समस्याको सम्बन्ध संविधान र गणतान्त्रिक व्यवस्थासँग समेत रहेको भन्दै त्यसबारे पुनर्विचार गर्ने बेला आएको बताउनुभयो । “अहिलेको समस्या संविधान र तपाईंहरूले ल्याएको गणतान्त्रिक व्यवस्थामा समेत छ । यसमा पनि सोच्ने बेला आएको छ,” उहाँले भन्नुभयो ।
अध्यक्ष लिङ्देनले लोकतन्त्रको विकल्प खोज्नेभन्दा लोकतान्त्रिक व्यवस्थाभित्र देखिएका समस्याको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक दलहरूले वर्तमान अवस्थाको समीक्षा गर्दै देश र जनताको हितमा अघि बढ्ने बाटो तय गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले लोकतन्त्रलाई थप प्रभावकारी बनाउँदै जनताका अपेक्षा सम्बोधन गर्न राजनीतिक दलहरूबीच निरन्तर बहस र संवाद आवश्यक रहेको बताउनुभयो । लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अध्यक्ष लिङ्देनको भनाइ थियो ।


