
झापा, १९ असोज । देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव रहेकाले सोमबार देशका विभिन्न भू–भागमा मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। लुम्बिनी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहे पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने तथा ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।


