
बागलुङ, १९ असोज । निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।
सोमबार बिहान करिब ७ः३० बजे काप्रा–बोहरागाउँ–छापाखानी प्यूठान सडकखण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार घटनामा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको छ ।
पुरिएकामध्ये उद्धार गर्ने क्रममा नै दुई जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का मजदुर रोल्पाका कृष्ण घर्ती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका–३ का वडाध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिनुभयो ।
चालक भद्र मल्लले चलाएको लु १ क ३४४६ नम्बरको जेसिबीले सडक स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर मजदुरहरू पुरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


