
झापा, २० असोज । देशका अधिकांश भूभागमा पश्चिमी तथा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण आज देशभरको मौसममा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको छ। यस्तै, कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहेको छ। अन्य क्षेत्रमा आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राति हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
राति हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात र पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान छ।


