
झापा, २० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इञ्जिनियर कृष्णनारायण यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार यादवले एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु. ५० हजार घुस मागी लिएका थिए।
घुस रकम लिइसकेको अवस्थामा आयोगको टोलीले केही समयअघि यादवलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा विद्युत् लाइन जडान तथा त्यससम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अनुसन्धानबाट यादवले घुस लिएको खुलेपछि सोमबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
आयोगले यादवमाथि प्रचलित भ्रष्टाचारसम्बन्धी कानुनबमोजिम कारबाही र घुस रकम बराबरको बिगो कायम गरी असुलउपर गर्न मागदाबी गरेको जनाएको छ।


