
दाङ, २० असोज । दाङको देउखुरीमा बस र अटो एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लु २ ख ०१११ नम्बरको बस लमही नगरपालिका–३ मजगाउँमा आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार दुर्घटनामा प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमैमगरको मृत्यु भएको छ।
प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको ट्रकलाई अटोले उछिनेर अगाडि बढ्न खोज्दा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको यात्रुवाहक बससँग ठोक्किएको थियो।
दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका–५ पाखापानीका जीतबहादुर पल्लीमगर, सोही ठाउँकी सङ्गिता सोमैमगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन्।
घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।


