
बिर्तामोड, २० असोज । झापा बिर्तामोड–३ की ध्रुवकुमारी गुरुङले Mrs. Purbeli Icon 2026 अन्तर्गत ‘Mrs. Leadership Award’ र ‘Public Choice Award’ जितेकी छन्।
असोज १९ गते साँझ इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा सम्पन्न ग्रान्ड फिनालेमा १९ जना प्रतिस्पर्धीबीच भएको प्रतिस्पर्धामा गुरुङले नेतृत्व क्षमता, सामाजिक सक्रियता र व्यक्तित्वका आधारमा ‘Mrs. Leadership Award’ प्राप्त गरेकी हुन्।
त्यस्तै, दर्शक तथा शुभेच्छुकबाट प्राप्त मतका आधारमा उनी ‘Public Choice Award Winner’ बन्न सफल भएकी हुन्। एउटै प्रतियोगितामा दुई महत्वपूर्ण अवार्ड जित्दै गुरुङले आफ्नो प्रतिभा, आत्मविश्वास र सामाजिक पहिचानलाई थप उचाइ दिएकी छन्।
विशेषगरी जनमतमा आधारित ‘Public Choice Award’ प्राप्त गर्नुलाई उनका समर्थक तथा शुभेच्छुकको उल्लेखनीय समर्थनका रूपमा हेरिएको छ।
वित्तीय साक्षरता तथा सामाजिक जागरणका क्षेत्रमा सक्रिय गुरुङले प्रतियोगितालाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अवसरका रूपमा लिएको बताइएको छ।
उनको सफलताप्रति बिर्तामोड तथा झापाका स्थानीयवासी, शुभेच्छुक र समर्थकहरूले खुसी व्यक्त गर्दै बधाई दिएका छन्। १९ प्रतिस्पर्धीबीचको प्रतिस्पर्धाबाट दुई महत्वपूर्ण अवार्ड जित्नुले गुरुङको निरन्तरको संघर्ष, समर्पण र सामाजिक सक्रियतालाई थप स्थापित गरेको छ।


