
झापा, २० असोज । झापाको मेचीनगरमा प्रहरीले जुवातास र लंगुरबुर्जा खेलिरहेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट १ लाख २६ हजार ८९० रुपैयाँ बरामद समेत गरेको छ।
मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित सेकुवा कर्नरको पछाडिपट्टि रहेको टिनको छानो भएको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले असोज १८ गते खानतलासी गर्दा उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरीले उनीहरूको साथबाट ८ बुङ तास र नेपाली नगद एक लाख ८ हजार ५२० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ पर्नेमा मेचीनगर–१० का किरण लम्साल र हर्कराज राई, मेचीनगर–५ का विशाल लावती र शेखरनाथ भण्डारी, मेचीनगर–७ का प्रकाश लावती, मेचीनगर–३ का सागर बस्नेत र मेचीनगर–१० का मेदनी बराल रहेका छन्।
उनीहरूविरुद्ध जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने कसुरमा झापा जिल्ला अदालतबाट चार दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, मेचीनगर–८ इटाभट्टाचोकबाट पनि प्रहरीले लंगुरबुर्जा (डाइस) खेलिरहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी इटाभट्टाबाट खटिएको संयुक्त टोलीले असोज १९ गते डाइस खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट नेपाली नगद १८ हजार ५० रुपैयाँ, भारतीय रुपैयाँ २०० र डाइस बरामद गरेको छ। पक्राउ पर्नेमा मेचीनगर–६ का चेतबहादुर लिम्बु र दिपक चौधरी, मेचीनगर–५ का सनम तामाङ तथा मेचीनगर–७ का जुगल भुजेल रहेका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


