
दमक, २० असोज । नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापा प्रहरीले जिल्लाका विभिन्न स्थान तथा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।
चाडपर्वका समयमा जिल्लाभित्र तथा बाहिर आवतजावत गर्ने यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। यात्राका क्रममा कुनै समस्या भए यात्रुले सहायता कक्षमा सम्पर्क गरी आवश्यक सहयोग र समन्वय लिन सक्ने बताइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मेचीनगर–६ को काँकडभिट्टा बसपार्क, मेचीनगर–१० को धुलाबारी मोड, मेचीनगर–१३ को चारआली चोक, बुद्धशान्ति–३ को बुधबारे चोक, भद्रपुर–५ को बसपार्क, अर्जुनधारा–११ को बसपार्क, बिर्तामोड–१ को पश्चिम बस स्ट्यान्ड, कनकाई–३ को पश्चिम बस स्ट्यान्ड, दमक–६ को बसपार्क र गौरीगञ्ज–३ को गौरीगञ्ज बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
यात्रुलाई टिकट लिएर मात्र यात्रा गर्न, टिकट सुरक्षित राख्न तथा यात्रासम्बन्धी कुनै समस्या, जिज्ञासा वा गुनासो भए नजिकको यात्रु सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो। बढी भाडा लिने, यात्रुमाथि दुर्व्यवहार गर्नेलगायतका कार्य भए तत्काल कारबाही गरिने उहाँले बताउनुभयो।
त्यस्तै, सार्वजनिक सवारीसाधनले तोकिएभन्दा बढी भाडा लिएको, क्षमताभन्दा बढी यात्रु बोकेको वा जोखिमपूर्ण तरिकाले सवारी सञ्चालन गरेको देखिएमा प्रमाणसहित तत्काल जानकारी दिन प्रहरीले आग्रह गरेको छ। अपरिचित व्यक्तिले दिएको खानेकुरा तथा पेय पदार्थ नलिन पनि प्रवक्ता अवाले अनुरोध गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय झापाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै चाडपर्वका समयमा सुरक्षा निगरानी र यात्रु सहजीकरणलाई प्रभावकारी बनाउने जनाएको छ। प्रहरीका अनुसार शंकास्पद व्यक्ति, वस्तु वा गतिविधि देखिएमा तथा आकस्मिक प्रहरी सहायता आवश्यक परेमा नजिकको प्रहरी इकाइ वा यात्रु सहायता कक्षमा तत्काल सम्पर्क गर्न सकिनेछ।


