
झापा, २१ असोज । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा कास्कीको मालेपाटन केन्द्रमा ३४.४ मिलिमिटर मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ः३८ बजे सार्वजनिक गरेको विवरणअनुसार उक्त अवधिमा कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
महाशाखाका अनुसार आज बुधबार देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेससहित कोसी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति पनि वर्षाको सम्भावना
राति कोसी प्रदेशका सबै स्थान तथा देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । बिहानीपख तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने सम्भावना छ ।
हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । तराईका एक–दुई स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।


