
झापा, २१ असोज । उपाधिको दाबेदार बिर्तामोड भेट्रान्स अर्जुनधारामा जारी प्रथम सालबारी–मिलडाँडा नकआउट पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
काँकडभिट्टाको मेची भेट्रान्सलाई ३–१ गोलअन्तरले पराजित गर्दै बिर्तामोडले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। अब बिर्तामोडले सेमिफाइनलमा आयोजक सालबारी–मिलडाँडा भेट्रान्सको सामना गर्नेछ। बिर्तामोडको जितमा कप्तान भुपेन लिम्बू नायक बने। उनले ह्याट्रिक पूरा गर्दै टोलीलाई सेमिफाइनलसम्म पुर्याए।
खेलको १५औँ मिनेटमा कर्नरबाट आएको बललाई कप्तान लिम्बूले हेडमार्फत गोल गर्दै बिर्तामोडलाई सुरुआती अग्रता दिलाए। तर, ३२औँ मिनेटमा मेचीले खेल बराबरीमा ल्यायो। बिर्तामोडका गोलकिपर मीन बस्नेतको हातबाट फुत्किएको बललाई मेचीका बिनोद लामाले गोलमा परिणत गरे।
त्यसपछि ३७औँ मिनेटमा लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै बिर्तामोडलाई पुनः अग्रता दिलाए। मेचीका खेलाडीले अफसाइडको अपिल गर्दै बल छाडेको अवस्थामा लिम्बूले त्यसको फाइदा उठाउँदै सुन्दर गोल गरेका थिए।
खेलको अतिरिक्त समयमा लिम्बूले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बिर्तामोडले ३–१ को सहज जित निकाल्यो। ह्याट्रिक गरेका बिर्तामोडका कप्तान भुपेन लिम्बू खेलको प्लेयर अफ द म्याच घोषित भए। उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा चारपाने युनाइटेड भेट्रान्स र झिलझिले भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ। असोज २४ गते हुने फाइनलको विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी तथा उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।


