
बिर्तामोड, २१ असोज । झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आएको अनलाइन पत्रिका परिवेश मिडिया छैटौँ वर्षमा प्रवेश गरेको छ।
परिवेश डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित परिवेश मिडियाले स्थापनाकालदेखि नै समसामयिक विषयलाई प्राथमिकतामा राख्दै तथ्यपरक समाचार तथा सूचनालाई पाठकसमक्ष छिटो र छरितो ढंगले पुर्याउँदै आएको जनाएको छ।
मिडियाले सुशासन, लोकतन्त्र र दिगो विकासका पक्षमा निरन्तर खबरदारी गर्दै आएको सम्पादक पुष्प खड्काले बताए। पत्रकारितामार्फत समाजमा देखिएका विकृति, विसंगति तथा सार्वजनिक सरोकारका विषयलाई उजागर गर्ने प्रयासलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ छ।
पाँचौँ वार्षिकोत्सवको अवसरमा परिवेश डिजिटल मिडिया प्रालिकी अध्यक्ष गङ्गा तिम्सिनाले मिडियाको यात्रामा साथ दिने सम्पूर्ण विज्ञापनदाता, पाठक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छन्।
उनले आगामी दिनमा परिवेश मिडियाले समाजमा व्याप्त भ्रष्टाचार, बेथिति र विसंगतिविरुद्ध अझ सशक्त आवाज उठाउँदै जनउत्तरदायी पत्रकारितालाई प्राथमिकता दिने बताइन्।
छोटो समयमै पाठकको विश्वास आर्जन गर्दै छैटौँ वर्षमा प्रवेश गरेको परिवेश मिडियाले आगामी दिनमा डिजिटल पत्रकारितालाई थप प्रभावकारी र विश्वसनीय बनाउँदै लैजाने जनाएको छ।


