
झापा, २१ असोज । कोशी प्रदेशका विवाहित महिलाको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ को तेस्रो संस्करणको उपाधि इटहरीकी सृजना राउतले जितेकी छन्।
असोज १९ गते सोमबार इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजित ग्रान्ड फिनालेमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै राउतले उपाधि हात पारेकी हुन्। पेशाले शिक्षिका तथा सञ्चारकर्मीसमेत रहेकी राउतले मुख्य उपाधिसँगै ‘मिसेस ट्यालेन्ट’ को सब–टाइटलसमेत जितिन्।

बेलुका ६ बजेदेखि राति ११ बजेसम्म चलेको ग्रान्ड फिनालेमा जमुना दाहाल फस्ट रनरअप, यमुना महत सेकेन्ड रनरअप र सोनी थापा थर्ड रनरअप घोषित भए। त्यस्तै, मनिका चौधरीले अर्गनाइजर च्वाइस र धुर्व कुमारी गुरुङले पब्लिक च्वाइस अवार्ड हात पारे।
उपाधि विजेता राउतले ताजसँगै करिब १ लाख रुपैयाँ बराबरका पुरस्कार तथा उपहार प्राप्त गरिन्। पुरस्कारमा रमाडा बाइ विन्डहम इटहरीमा ब्रेकफास्टसहित एक रातको लक्जरी स्टे, फुडशाला रेस्टुरेन्टबाट १० हजार रुपैयाँ बराबरको फुड भाउचर, गोर्खाली फिटनेसमा एक वर्ष निःशुल्क जिमलगायत विभिन्न गिफ्ट ह्याम्पर रहेका छन्।
कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतियोगीहरूको प्रतिभा, व्यक्तित्व र क्षमता मूल्याङ्कन गर्न विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरू निर्णायकका रूपमा रहेका थिए। निर्णायक मण्डलमा मिसेस नेपाल वर्ल्ड–२०२३ की विजेता पृथ्वीया थापा, मिसेस पूर्वेली आइकन–२०२४ की अर्गनाइजर च्वाइस विजेता रुविना श्रेष्ठ, फेसन डिजाइनर विवेश राई र लायन्स क्लब ३२५ सी डिस्ट्रिक्ट सेक्रेटरी रेखा गुरुङ रहेका थिए।
प्रतियोगितामा सहभागी अन्य प्रतिस्पर्धीले पनि विभिन्न विधामा उत्कृष्टता हासिल गर्दै सब–टाइटल जितेका छन्। जमुना दाहालले मिसेस फोटोजेनिक र मिसेस बेस्ट वाक, डा। उरुषा शाहले मिसेस पर्सनालिटी र मिसेस भर्सटाइल को उपाधि हात पारिन्।
त्यस्तै, संगीता शाहले मिसेस डिसिप्लिन, सोनी थापाले मिसेस इन्टेलेक्चुअल, लुइसा पुडासैनीले मिसेस ब्युटी विथ पर्पोज, सीता बस्नेत श्रेष्ठले मिसेस फ्रेन्डशिप र अन्जिला चौधरीले मिसेस कन्फिडेन्टको उपाधि जितिन्।
शोभा कुमारी थापा गुरुङले मिसेस इन्टरप्रेन्योर र मिसेस मल्टिमिडिया, सुष्मा राई श्रेष्ठले मिसेस ग्ल्यामर, एलिशा धिमालले मिसेस एक्टिभ, अनूपा पौडेलले मिसेस बेस्ट ट्रान्सफर्मेसन, भावना घिमिरेले मिसेस बेस्ट डान्स तथा यमुना महतले मिसेस फेस अफ लुक मी कस्मेटिकको उपाधि हात पारिन्।
यसैगरी, मनिका चौधरीले मिसेस क्रिएटिभ, वर्षा गजमेरले मिसेस इन्फ्लुएन्सर, स्वस्तिका चौधरीले मिसेस राइजिङ स्टार, धुर्व कुमारी गुरुङले मिसेस लिडरशिप आइकन तथा शोभा राउतले मिसेस ग्रेसफुलको उपाधि जितिन्।
यार्सागुम्बाको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा लुक मी कस्मेटिक सह–प्रायोजक र १८ं इनर्जी ड्रिंक सहयोगीका रूपमा रहेका थिए। प्रतियोगिता सफल बनाउन सीईओ सजिना श्रेष्ठ, इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठ, कोरियोग्राफर सुभेच्छा कार्की, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ तथा भिडियोरफोटोग्राफर निश्चल श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ग्रान्ड फिनाले कार्यक्रमको सञ्चालन मेरिना तुम्सा लिम्बूले गरेकी थिइन्।

