
झापा, २१ असोज । नेपाल प्रहरीले संरक्षित वन्यजन्तुको अंगसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लैनचौरको टोलीले भालुको पित्त र हात्तीको दाह्रासहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासीका योगेन्द्रप्रसाद चौधरी, सिन्धुलीका सोमबहादुर माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मा रहेका छन् । सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाका अनुसार चौधरीलाई काठमाडौँको सोह्रखुट्टेबाट भालुको पित्तसहित पक्राउ गरिएको हो । त्यस्तै, माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट हात्तीको दाह्रासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चौधरीको साथबाट १४० ग्राम तौलको भालुको पित्त एक थान बरामद भएको छ । माझी र विश्वकर्माको साथबाट भने करिब ६ किलोग्राम तौलको हात्तीको दाह्रा बरामद गरिएको छ ।
पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौँमा बुझाइएको छ । माझी र विश्वकर्मालाई भने डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाइएको सीआईबीले जनाएको छ । संरक्षित वन्यजन्तुको अंगको अवैध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि प्रहरीले अनुसन्धान र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ ।


