
झापा, २१ असोज । यस वर्षको बडादसैँअन्तर्गत विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अनुसार त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्न सकिनेछ। टीका लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ ।
समितिका अध्यक्ष सह–प्रा.डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि १०ः२६ बजेको समय उत्तम रहेको हो। राज्य सञ्चालकले भने समितिले निर्धारण गरेको साइतमै मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गर्नुपर्ने उहाँले बताउनुभयो।
असोज २५ गते घटस्थापनाको साइत
यस वर्ष असोज २५ गते आइतबारदेखि नवरात्र सुरु हुनेछ। घटस्थापनाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको समितिले जनाएको छ। चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने समितिले जनाएको छ।
असोज २६ गते सोमबार झण्डा फेर्ने साइत बिहान १०ः०७ बजे रहेको छ। असोज २९ गते पचलीभैरव यात्रा, असोज ३१ गते फूलपाती पर्व परेको छ। फूलपातीका दिन बिहान ०७ः३७ बजे तुलजा भवानी यात्राको साइत र १०ः३९ बजे तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत रहेको छ।
कात्तिक १ गते आइतबार महाअष्टमी तथा राति कालरात्रि पर्व मनाइनेछ। कात्तिक २ गते सोमबार अष्टमी तिथि, कात्तिक ३ गते मंगलबार महानवमी र कात्तिक ४ गते बुधबार विजया दशमी परेको छ।
विजया दशमीकै दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्राको साइत र ११ः५२ बजे तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत रहेको समितिले जनाएको छ। सोही दिन खड्गयात्रा पनि हुनेछ।
कात्तिक ८ गते आइतबार कोजाग्रतव्रत तथा पूर्णिमा व्रत परेको छ। सो दिन बेलुकी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गापक्ष अर्थात् दसैँ पर्व समापन हुनेछ। कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ।
नेपालीको प्रमुख राष्ट्रिय पर्वका रूपमा मनाइने दसैँमा देश तथा विदेशमा रहेका नेपाली घर फर्कने र मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने गर्छन्। दसैँका अवसरमा बजारमा चहलपहल बढ्नुका साथै पिङ खेल्ने, चङ्गा उडाउने तथा शक्तिपीठमा पूजा–आराधना गर्ने परम्परा पनि रहेको छ।


