
झापा, २१ असोज । झापाको कचनकवल गाउँपालिका–५ पाठामारी सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १२.७७० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी पाठामारीबाट खटिएको गस्ती टोलीले असोज १७ गते साँझ करिब ६ः५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मे ८ प ८८३१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सुनजस्तो देखिने पहेँलो धातुको ढिक्का बरामद गरेको हो ।
प्रहरीका अनुसार मोटरसाइकल चालक झापा निवासी ओमबाबु कर्मकार र मोटरसाइकलको पछाडि सवार भारतको किशनगञ्ज निवासी मनोज कर्मकारको साथबाट उक्त धातु बरामद गरिएको हो ।
सशस्त्र प्रहरीले बरामद वस्तु र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि असोज १९ गते भद्रपुर भन्सार कार्यालयमा बुझाएको जनाएको छ । बरामद १२.७७० ग्राम सुनको मूल्य ३ लाख १९ हजार ६८७ रुपैयाँ तथा मोटरसाइकलको मूल्य १ लाख रुपैयाँ कायम गरिएको छ ।
बरामद सामान र मोटरसाइकलसहित कुल ४ लाख १९ हजार ६८७ रुपैयाँ मूल्य कायम भएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक शक्तिजीत विष्टले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाले सीमा क्षेत्रमा हुने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई तीव्रता दिइरहेको जनाएको छ ।


