
अर्जुनधारा, २१ असोज । चारपाने युनाइटेड भेट्रान्स क्लब प्रथम सालबारी–मिलडाँडा नकआउट पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा झिलझिले भेट्रान्स क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै चारपानेले उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित ६० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
खेलको २५औँ मिनेटमा चारपानेका सन्तोष राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । कप्तान गणेश लिम्बूको क्रस पासमा प्राप्त अवसरलाई सदुपयोग गर्दै राईले गोल गरेका हुन् । दोस्रो हाफमा झिलझिलेका कप्तान जसु राईले ५०औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
टाइब्रेकरमा चारपानेका सन्तोष राई, सुदीप श्रेष्ठ, प्रविन बिक र सुवास आङथुपोले गोल गरे । विकास थुलुङको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो । झिलझिलेका रोजिन शिवाकोटी र जसु राईले गोल गर्दा टिकाराम खेवाङ र श्यामबहादुर इजमको प्रहार चारपानेका गोलकिपर रुपक गुरुङले बचाए ।
चारपानेका गोलकिपर रुपक गुरुङ प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। गुरुङलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले पुरस्कार प्रदान गरे ।
फाइनलमा पुगेसँगै चारपानेले कम्तीमा ३१ हजार रुपैयाँ पुरस्कार पक्का गरेको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक सालबारी–मिलडाँडा भेट्रान्स र बिर्तामोड भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
असोज २४ गते हुने फाइनलका विजेताले ५१ हजार रुपैयाँसहित ट्रफी तथा उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।


