
धनकुटा, २१ असोज । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) शेखर खनालले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्नुभएको छ।
निरीक्षणका क्रममा डिआइजी खनालले जिल्ला प्रहरी कार्यालयको भवन, विभिन्न शाखा तथा हिरासत कक्षको निरीक्षण गर्नुभएको थियो। त्यसक्रममा उहाँले कार्यरत प्रहरी कर्मचारीलाई नागरिकमैत्री प्रहरी सेवा प्रवाहसँगै शान्ति सुरक्षा प्रभावकारी बनाउन आवश्यक निर्देशन दिनुभयो।
उहाँले आम नागरिकलाई प्रहरी सेवा सहज, सरल, पहुँचयोग्य र प्रभावकारी रूपमा उपलब्ध गराउन विशेष ध्यान दिन निर्देशन दिनुभयो। नागरिकका समस्या, पीरमर्का तथा गुनासाको तत्काल सुनुवाइ गर्दै प्रहरी र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउन, नियमित प्रहरी गस्ती परिचालन गर्न तथा समुदायसँग निरन्तर समन्वय र सहकार्य गरी नागरिक सचेतना अभिवृद्धि गर्न उहाँले निर्देशन दिनुभएको छ।
धनकुटाका डाँडापाखामा आफैँ उम्रिएका तथा लगाइएका गाँजाका बोटबिरुवा फडानी गरी नष्ट गर्न सक्रिय रूपमा प्रहरी परिचालन गर्न पनि डिआइजी खनालले निर्देशन दिनुभयो। लागूऔषधको प्रयोग तथा ओसारपसारलाई निरुत्साहित गर्न सम्पूर्ण प्रहरी कर्मचारी आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो।
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षा व्यवस्था थप मजबुत बनाउन आवश्यकताअनुसार प्रहरी जनशक्ति परिचालन गर्न उहाँले निर्देशन दिनुभयो। मुख्य बजार, बसपार्क, सार्वजनिक स्थल तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन पनि उहाँले आग्रह गर्नुभयो।
यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न बसपार्क तथा यात्रुको बढी भीड हुने स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न, सवारीसाधनको नियमित अनुगमन गर्न तथा सम्भावित दुर्घटना र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्नसमेत डिआइजी खनालले निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


