
बिर्तामोड, २१ असोज । झापाको बिर्तामोड नगरपालिका–४ अन्नपूर्ण चोकस्थित फर्निचर पसलमा बुधबार बिहान भीषण आगलागी हुँदा दुई वटा घर तथा फर्निचर उद्योग पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीमा सामान निकाल्ने क्रममा एक जना घाइते भएका छन्।
स्थानीय देवी सुव्वाको तीनतले पक्की घरको भुइँतलामा उनका छोरा हर्कजंग सुव्वाले सञ्चालन गरेको देवी उडन फर्निचर पसलमा बिहान करिब १०ः४५ बजे आगलागी भएको थियो। आगलागीको कारण भने तत्काल खुल्न सकेको छैन।
आगलागीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक मनिष लुईटेलको कमाण्डमा १५ जना, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक मुन्ना कुमारी अधिकारीको कमाण्डमा १२ जना तथा सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेबाट सशस्त्र प्रहरी नायब निरीक्षक उमेश ठाकुरको कमाण्डमा सात जनाको टोली घटनास्थल पुगेको थियो।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकलको सहयोगमा दिउँसो १ः०४ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट सोही घरसँग जोडिएको कृष्णकुमारी राईको घर भाडामा लिएर दिव्याश्री अग्रवालले सञ्चालन गरेको जय ट्रेड फर्निचर फ्याक्ट्री एन्ड सोरुम पनि पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीका कारण उक्त घरसमेत पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। त्यसैगरी पछाडितर्फ रहेका अन्य दुई वटा घरमा आगोको रापका कारण सामान्य क्षति पुगेको छ।
आगलागी भएको घरबाट सामान निकाल्ने क्रममा अर्जुनधारा नगरपालिका–३ का करिब ३९ वर्षीय तिलबहादुर रम्तेल एक तला माथिबाट हामफाल्दा दाहिने खुट्टामा चोट लागेको छ। उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको भौतिक क्षतिको यकिन विवरण तथा अनुमानित रकम संकलन भइरहेको छ।


