
झापा, २२ असोज । पछिल्लो १२ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोसी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ः१८ बजे जारी गरेको मौसम पूर्वानुमानअनुसार आज दिउँसो र राति देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भने मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङ र असिनासहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
मधेससहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने दिउँसो भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति पनि वर्षाको सम्भावना
आज राति कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
यसैगरी, मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार हाल उपलब्ध प्रविधिबाट प्रदेश वा ठूलो भौगोलिक क्षेत्रमा वर्षा हुने सम्भावना पूर्वानुमान गर्न सकिए पनि कुनै निश्चित स्थानमै वर्षा हुन्छ भनेर ठ्याक्कै पहिचान गर्न सकिने अवस्था छैन । त्यसैले कुनै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना भनिएको अवस्थामा उक्त प्रदेशका विभिन्न स्थानमा वर्षा हुन सक्ने बुझ्नुपर्ने हुन्छ ।


