
झापा, २२ असोज । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाले भन्सार छली, अवैध चोरी–निकासी तथा पैठारीमा संलग्न गतिविधिविरुद्ध कारबाही तीव्र बनाएको छ। गणले चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ४ करोड १५ लाख ६२ हजार ३७३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ।
गणका अनुसार साउनमा १ करोड ५५ लाख ५ हजार ६२६ रुपैयाँ, भदौमा १ करोड ४८ लाख १ हजार ८१८ रुपैयाँ र असोज महिनाको हालसम्म १ करोड १२ लाख ५४ हजार ९२९ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको हो।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा भने २ करोड २० लाख ८९ हजार ५७८ रुपैयाँ बराबरका अवैध सामान बरामद भएका थिए। यस वर्षको सोही अवधिमा बरामद रकम उल्लेख्य रूपमा बढेको गणले जनाएको छ।
भन्सार छली तथा अवैध चोरी–निकासी र पैठारीमा संलग्न चार जनालाई नियन्त्रणमा लिनुका साथै ३५ वटा सवारीसाधन समेत नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका सामान तथा सवारीसाधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको गणले जनाएको छ।
लागूऔषध नियन्त्रणमा पनि निगरानी
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि निगरानी र सुरक्षा परिचालनलाई प्रभावकारी बनाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताए।
उनका अनुसार भन्सार छली, अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरीलगायत सम्बन्धित निकायसँग समन्वय र सहकार्यलाई प्राथमिकता दिइएको छ।
“चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै नाकाबाटै अवैध गतिविधि नियन्त्रण गर्ने गरी परिचालन भइरहेका छौँ,” उनले भने।
सशस्त्र प्रहरीले राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार नियन्त्रणमा समेत निगरानी बढाएको जनाएको छ। चालु आर्थिक वर्षको हालसम्म ५८ दशमलव ८९ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरिएको छ।
लागूऔषध ओसारपसारमा संलग्न दुई महिलासहित १५ जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी सुजित विष्टले जानकारी दिए।
नदीजन्य पदार्थ ओसारपसारमा पनि कारबाही
यसैगरी, नदीजन्य पदार्थको नियमविपरीत उत्खनन तथा ओसारपसारमा प्रयोग भएका २६ वटा सवारीसाधन नियन्त्रणमा लिई ६ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
सूचना अधिकारी विष्टका अनुसार राजस्व चुहावट नियन्त्रणमा खटिएका सम्बन्धित निकायका कर्मचारीसँग समन्वय तथा सहकार्य गर्दै सशस्त्र प्रहरी सीमा क्षेत्रमा निरन्तर परिचालित हुँदै आएको छ। सीमा क्षेत्रमा निगरानी र सुरक्षा परिचालन बढाउँदा अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र राजस्व चुहावट न्यूनीकरणमा सहयोग पुगेको उनले बताए।
सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राखेर कार्यसम्पादन भइरहेको बताए। सीमा क्षेत्रमा कुनै पनि प्रकारका गैरकानुनी गतिविधि हुन नदिन मातहतका युनिटलाई आवश्यक निर्देशन दिइएको उनले जानकारी दिए।


