
झापा, २३ असोज । पछिल्लो १२ घण्टामा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६:१५ बजे जारी गरेको मौसम विवरणअनुसार आज दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। ती क्षेत्रमा हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
मधेस, कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोसी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
राति कोसी प्रदेशको तराई भूभागका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार आज राति कोसी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। सम्भावित वर्षा, चट्याङ, हावाहुरी र असिनाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।


