
झापा, २३ असोज । नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्ने घरेलु उपभोक्तालाई थप सुविधा दिने भएको छ । प्राधिकरणले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम ल्याएको हो ।
विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार अब अनलाइनबाट विद्युत् महसुल भुक्तानी गर्दा विद्यमान दुई प्रतिशत छुटसँगै थप ०.५ प्रतिशत स्मार्ट पे रिवार्ड प्राप्त गर्न सकिनेछ । यससँगै डिजिटल माध्यमबाट महसुल तिर्ने ग्राहकले कुल २.५ प्रतिशत छुट पाउनेछन् ।
पहिलो चरणमा छ महिनाका लागि लागू हुने यस कार्यक्रमले डिजिटल भुक्तानीलाई सहज र प्रोत्साहनमूलक बनाउने शाहीले बताउनुभयो । प्राधिकरणले समय बचतसँगै थप सुविधा प्राप्त गर्न अनलाइन माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
डिजिटल भुक्तानीलाई नागरिकको समय बचत, सेवा प्रवाह सहज, वित्तीय पारदर्शिता वृद्धि र सार्वजनिक स्रोतको प्रभावकारी उपयोगसँग जोड्दै सम्भव भएसम्म आजैदेखि अनलाइन माध्यमबाट विद्युत् महसुल तिर्न सहयोग गर्न अपिल गर्नुभएको छ ।


