
झापा, २३ असोज । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध तथा प्रतिबन्धित औषधिसहित १५ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर, गाँजा तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधि बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार असोज २२ गते झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका–७ का १८ वर्षीय पुजन सुन्दास, १९ वर्षीय समिर मल्लिक, २९ वर्षीय शशिष कुमार तामाङ, आशिस कुमार तामाङ र काठमाडौंको तारकेश्वर नगरपालिका–११ का २० वर्षीय समिर क्षेत्रीलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोलका २७ क्याप्सुल बरामद भएको छ।
त्यस्तै, दमक–७ का २२ वर्षीय राज गौतम र २० वर्षीया लक्ष्मी शंकरलाई ट्रामोलका ३० क्याप्सुल र स्यापारासेटका ३० ट्याब्लेटसहित पक्राउ गरिएको छ।
मोरङमा अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका–७ का २५ वर्षीय सूर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिका–६ का २४ वर्षीय राहुल राईलाई नाइट्रोजनका नौ ट्याब्लेटसहित पक्राउ गरेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय मायागञ्जबाट खटिएको टोलीले मोरङको धनपालथान गाउँपालिका–३ मा बेवारिसे अवस्थामा रहेको २४ किलो ७१० ग्राम गाँजा बरामद गरेको छ।
सुनसरीमा प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी तरहराको टोलीले इटहरी उपमहानगरपालिका–१९ का १९ वर्षीय अमन चौधरीलाई ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी नडाहाले उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का नरेश राई र ३० वर्षीय अनुश मगरलाई डाइसाइक्लोमाइनका एक हजार ३९० ट्याब्लेट र ट्रामाडोलका एक हजार ३९० क्याप्सुलसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका–५ का ३१ वर्षीय शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय पकलीले इटहरी–१७ की ६० वर्षीया जैमुल खातुनलाई ५०० ग्राम गाँजासहित पक्राउ गरेको छ।
उदयपुरमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले धरान–२० का २९ वर्षीय विशाल राईलाई पाँच किलो गाँजासहित पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।


