
झापा, २३ असोज । नेपाली चियाको गुणस्तर परीक्षण सहज बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यसको पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाको आयोजनामा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको समन्वयमा शुक्रबार आयोजित चिया उद्योगी तथा सरोकारवालाबीचको अन्तरक्रियाले प्रयोगशाला स्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको हो ।
चिया उत्पादनको लामो इतिहास बोकेको झापामा परीक्षण प्रयोगशाला स्थापना भए चियाको गुणस्तर परीक्षण गर्न सहज हुनुका साथै उत्पादनको गुणस्तर सुधार, खाद्य सुरक्षा सुनिश्चितता र बजार विस्तारमा सहयोग पुग्ने सहभागीले बताएका छन् । हाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा मात्र चिया परीक्षण प्रयोगशाला रहेको जनाइएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा बनाएको पहिचान कायम राख्न उत्पादनदेखि प्याकेजिङ र बजारीकरणसम्म गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए ।
तयारी चियामा अखाद्य तथा बाह्य पदार्थको मिसावट रोक्नु र खाद्य सुरक्षा मापदण्ड पालना गर्नु उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै उनले यसमा सबै सरोकारवाला जिम्मेवार हुनुपर्ने बताए । चियाको गुणस्तर कायम राख्न सरकारी निकाय, उद्योगी र व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
अन्तरक्रियामा तयारी चियाको गुणस्तर, खाद्य सुरक्षा मापदण्डको पालना, उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने असर तथा मापदण्डविपरीत रङ वा अन्य पदार्थ प्रयोग गरेमा प्रचलित कानुनअनुसार हुने दण्ड, जरिवाना र सजायका व्यवस्थाबारे जानकारी गराइएको थियो ।
झापामा १० हजार ५०० हेक्टरमा चिया खेती
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाका प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा ३८ वटा चिया उद्योग सञ्चालनमा छन् । गत आर्थिक वर्षमा झापामा नौ करोड ८५ लाख किलो सिटिसी चिया उत्पादन भएको थियो ।
जिल्लामा १० हजार ५०० हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । त्यसमध्ये तीन हजार ६०० हेक्टरमा साना किसानले चिया खेती गरिरहेका छन् भने करिब तीन हजार किसान यस क्षेत्रमा संलग्न छन् ।
कार्यक्रममा चियामा बाह्य पदार्थको मिसावट रोक्ने, उत्पादनको गुणस्तर सुधार गर्ने र किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो । मल वितरण प्रणालीलाई प्रभावकारी बनाउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।
झापामै चिया परीक्षण प्रयोगशाला स्थापना गर्न सकिए उद्योगी तथा किसानलाई गुणस्तर परीक्षणका लागि सहज हुने र नेपाली चियाको विश्वसनीयता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


