बिर्तामोड, २५ असोज । झापाको बिर्तामोड नगरपालिका–७ गरामनीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ३११ जना लाभान्वित भएका छन्। शिविरमा स्वास्थ्य परीक्षण तथा उपचारसँगै साढे तीन लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको छ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडले नेकपा एमालेका वडा नम्बर ७, ८ र ९ को व्यवस्थापनमा दुर्गा माध्यमिक विद्यालयको परिसरमा शिविर आयोजना गरेको हो।

शिविरमा स्त्री तथा प्रसूति रोग, मुटुरोग, हाडजोर्नी, फिजिसियन र दन्तरोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। बिर्तामोडस्थित कनकाई, मनमोहन र बिर्तामोड नगर अस्पतालका विशेषज्ञ चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरेका थिए।
आयोजक महासंघका अध्यक्ष युवराज निरौलाले शिविरमा स्वास्थ्य जाँच गराउन आएका बिरामीलाई साढे तीन लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको जानकारी दिए। स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने अवसर प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताए।
शिविरको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य देवेन्द्र दाहालले गरेका थिए। उनले देश विभिन्न समस्याबाट गुज्रिरहेको अवस्थामा नागरिकलाई सचेत बनाउँदै स्वास्थ्य सेवा उपलब्ध गराउनु महत्त्वपूर्ण रहेको बताए।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले नागरिकलाई नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गरिन्। समयमै स्वास्थ्य जाँच गराउँदा सम्भावित रोग पहिचान गर्न र जटिलता कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
‘स्वास्थ्यमा समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि कतिपय मानिस परीक्षण गराउन अस्पताल पुग्दैनन्,’ उनले भनिन्, ‘रोगले च्यापेपछि मात्रै चिकित्सककहाँ पुग्दा समस्या गम्भीर बनिसकेको हुन सक्छ। त्यसैले स्वास्थ्यप्रति सचेत हुनु आवश्यक छ।’
कोशी प्रदेशसभा सदस्य एकराज कार्कीले स्थानीयस्तरमा आयोजना हुने यस्ता शिविरले अस्पतालसम्म सहज पहुँच नभएका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा लिन सहयोग पुग्ने बताए।
कार्यक्रममा सेवा प्रदान गर्ने अस्पताल तथा सहभागी चिकित्सकलाई आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्रसमेत वितरण गरिएको थियो।


