
बिर्तामोड, २५ असोज । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति झापाको पाँचौँ जिल्ला अधिवेशनले ममता गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार झापाको बिर्तामोड नगरपालिका–३, बुद्धनगरस्थित तमु सामुदायिक भवनमा सम्पन्न अधिवेशनबाट गुरुङको अध्यक्षतामा तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रिन्जी गुरुङ, उपाध्यक्षमा सन्च गुरुङ, महिला उपाध्यक्षमा आशा गुरुङ, सचिवमा सुसन गुरुङ, सहसचिवमा सलिना गुरुङ, प्रचार सचिवमा शिला गुरुङ, कोषाध्यक्षमा उदन गुरुङ र सहकोषाध्यक्षमा प्रशान्त गुरुङ निर्वाचित भएका छन् । सदस्यहरूमा आशिष गुरुङ, सुमित गुरुङ, आयुष्मा गुरुङ, निमेष गुरुङ, दीक्षा गुरुङ, निता गुरुङ, मनिषा गुरुङ र पेन्साङ गुरुङ चयन भएका छन् ।
जिल्ला अध्यक्ष नरेश गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाका अध्यक्ष जगत गुरुङ प्रमुख अतिथि थिए। तमु विद्यार्थी छोंज धींका केन्द्रीय उपाध्यक्ष युवराज गुरुङले प्रमुख वक्ताका रूपमा मन्तव्य राखेका थिए।
अग्रजलाई सम्मान, संस्थापक नेतृत्वको तस्बिर अनावरण
अधिवेशनका अवसरमा संगठनको स्थापना र विकासमा योगदान पुर्याउने अग्रजहरूलाई सम्मान गरिएको थियो। झापा जिल्ला विद्यार्थी संगठनका संस्थापक अध्यक्ष हरि गुरुङ, पूर्व जिल्ला अध्यक्ष प्रकाश गुरुङ र पूर्व विद्यार्थी उपाध्यक्ष ध्रुवकुमारी गुरुङलाई सम्मानपत्र प्रदान गरिएको थियो।
त्यस्तै, संस्थाको स्थापनादेखि विभिन्न समयमा नेतृत्व गरेका विद्यार्थी अध्यक्षहरूको तस्बिर अनावरण गरिएको थियो। सांस्कृतिक नृत्य प्रस्तुत गर्ने विद्यार्थी तथा सहयोगी संस्था र व्यक्तिहरूलाई पनि प्रशंसापत्र र कदरपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य टिकाराम गुरुङ, तमुस्यो ह्युल छोंज धींकी केन्द्रीय सदस्य अमृता गुरुङ, पूर्व केन्द्रीय सदस्य गौरीमाया गुरुङ, झापाका पूर्व अध्यक्ष धनबहादुर गुरुङलगायत विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधिको उपस्थिति थियो।
जिल्ला उपाध्यक्ष रिन्जी गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहसचिव सनम गुरुङले गरेका थिए।
तमु (गुरुङ) विद्यार्थीहरूको राष्ट्रियस्तरको साझा संस्थाका रूपमा रहेको नेपाल तमु विद्यार्थी छोंज धींको स्थापना भएको तीन दशक पूरा भइसकेको छ। देशव्यापी संगठन विस्तारका क्रममा झापामा २०६१ सालमा जिल्ला कार्यसमिति स्थापना गरिएको थियो।
नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षमा गुरुङ विद्यार्थीलाई संगठित गर्दै भाषा, संस्कृति, संस्कार र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै विद्यार्थीको नेतृत्व विकास र सामाजिक रूपान्तरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


