भद्रपुर, २५ असोज । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा नेपाल सामुदायिक विकास केन्द्र (एनसीडीसी) को आयोजनामा भद्रपुरमा आज झापाको भद्रपुरमा मानसिक स्वास्थ्यका लागि ३ दशमलब ५ किलोमिटरको सामुदायिक दौड भएको छ ।
मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने, खुलेर कुरा गर्न प्रोत्साहित गर्ने र एकअर्कालाई साथ दिन प्रेरित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ७०० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख आतिथ्य प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवात गुरुकुलका गुरुहरूद्वारा वैदिक मन्त्र उच्चारणसहित गरिएको थियो । त्यसपछि प्रस्तुत लाखे नाचले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । शनिबार बिहान ठीक ७ः३० बजे सुरु भएको दौडमा ५०० भन्दा बढीले भाग लिएका थिए । करिब ८० स्वयंसेवक र १५० स्थानीय समुदायका सदस्यहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
३.५ किलोमिटरको दौडलाई रमाइलो र सहभागितामूलक बनाउन बाटोका विभिन्न स्थानमा संगीत बजाइएको थियो। कोही दौडिए, कोही हिँडे त कोही संगीतमा रमाउँदै नाचे। सहभागीहरूको सुविधाका लागि बाटोका पाँच फरक स्थानमा पानीको व्यवस्था गरिएको थियो। ल्ऋम्ऋ सामुदायिक भवनमा फर्किएपछि सहभागीहरूलाई केरा र स्याउलगायतका फलफूल पनि उपलब्ध गराइएको थियो। दौडपछि मनोरञ्जनात्मक खेल तथा गतिविधिहरू पनि आयोजना गरिएका थिए।
दौडमा प्रथम हुने प्रविनलाई गोल्डस्टार शुजले जुत्ता प्रदान गरेको थियो। दोस्रो हुने अर्जुन तामाङलाई इनर ह्वील क्लब अफ भद्रपुरको सहयोगमा गोल्डस्टारको जुत्ता प्रदान गरिएको थियो भने तेस्रो हुने सन्दीप कार्कीलाई रातो ढोका प्रोडक्ट्सका तर्फबाट गोल्डस्टारको जुत्ता प्रदान गरिएको थियो। एनसीडीसीबाट सुरु भएको दौड सगरमाथा चोक, गायत्री मन्दिर, विद्युत कार्यालय, एसपी अफिस, क्याम्पसमोड हुँदै पुनः एनसीडीसीमा आएर समापन भएको थियो ।
कार्यक्रम सफल बनाउन गोल्डस्टार शुज, इनर ह्वील क्लब अफ भद्रपुर, कन्काई हस्पिटल, डेल्फी स्किन केयर बिर्तामोड, सन फार्मास्युटिकल्सलगायतका सहयोगीहरूको योगदान रहेको थियो। बिना अधिकारीले स्वयंसेवकहरूका लागि खाजा उपलब्ध गराउनुभएको थियो।
दौड सम्पन्न भएपछि एनसीडीसीले लागुऔषध प्रयोगको समस्यासँग जुधिरहेका व्यक्तिहरूसँग मनोचिकित्सक, अनुसन्धानकर्ता र नेपाल प्रहरीका प्रतिनिधिहरूको उपस्थितिमा गोप्य तथा अनौपचारिक छलफल पनि आयोजना गरेको थियो। करिब डेढ घण्टा चलेको छलफलमा उनीहरूका अनुभव सुन्ने, चुनौती बुझ्ने र सहयोगका सम्भावित उपायबारे संवाद गरिएको थियो।
एनसीडीसीकी कार्यकारी निर्देशक माधवी मरासिनीको नेतृत्वमा सम्पन्न यी गतिविधिले संस्थालाई समुदायसँग पुनः जोड्दै मानसिक स्वास्थ्य र लागुऔषध प्रयोगसम्बन्धी विषयमा खुला संवाद, सहानुभूति र सहयोगको वातावरण निर्माण गर्ने प्रयास गरेको छ। संस्थाले आगामी दिनमा पनि समुदायमा आधारित सचेतना तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य लिएको छ।


