ताप्लेजुङ, २६ असोज । नवरात्र सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरामा दर्शनार्थीको आगमन बढेको छ । नवरात्रको पहिलो दिनदेखि नै पाथीभरा मन्दिरमा देवीको पूजाआराधना तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिर परिसरमा भक्तजनको भीड बढेको छ । भक्तजनको चहलपहल बढेसँगै पाथीभरा क्षेत्र र फेदीका होटलमा समेत तीर्थयात्रीको उपस्थिति बाक्लिएको छ ।
कञ्चनजङ्घा, मकालु र फक्ताङलुङलगायत हिमशृङ्खलाको मनोरम दृश्यावलोकनसँगै पाथीभरा माताको दर्शन गर्न आउने तीर्थयात्रीको संख्या बढेको स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए । उनका अनुसार तीर्थयात्रीको चाप बढेपछि क्षेत्रका अधिकांश होटल भरिभराउ भएका छन् ।
नवरात्रका अवसरमा पाथीभरा माताको दर्शन गर्न नेपालका विभिन्न स्थानबाट भक्तजन आउने गर्छन् । धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यका कारण पनि पाथीभरा क्षेत्र तीर्थयात्रीको आकर्षणको केन्द्र बन्दै आएको छ ।
नवरात्रका बेला बढ्ने तीर्थयात्रीको आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालयले पाथीभरा क्षेत्र विकास समितिलगायत सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए ।


