झापा, २६ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषका विभिन्न खातामा हालसम्म कुल १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ मौज्दात रहेको छ ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौवटा वाणिज्य बैंकमा रहेका खातामा १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ रुपैयाँ मौज्दात छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर जम्मा भएको छ ।
सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको जनाएको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ ।


