झापा, २७ असोज । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा देशका अन्य हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति हिमाली भूभागमा आंशिक बदली रहने तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।


