सन्तोष शर्मा
झापा, २८ असोज । दसैं, तिहार र छठ पर्वलाई सुरक्षित, व्यवस्थित र भयरहित बनाउन झापा प्रहरीले जिल्लाभर सुरक्षा निगरानी बढाउने भएको छ । चाडपर्वको भीडभाडमा हुन सक्ने चोरी, लुटपाट, तस्करी, जुवातास, अवैध पटका कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले दैनिक १ हजार १९९ जना जनशक्ति परिचालन गर्ने सुरक्षा योजना बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले तयार पारेको चाडपर्व लक्षित सुरक्षा योजनामा सम्भावित अपराध रोकथाम, प्रहरीको प्रत्यक्ष उपस्थिति बढाउने र घटना हुनासाथ तत्काल प्रतिक्रिया जनाउने रणनीतिलाई प्राथमिकता दिएको छ । यसका लागि प्रिभेन्टिभ इन्टेलिजेन्स, भिजिबल पुलिसिङ र ¥यापिड रेस्पोन्स को रणनीति अपनाइनेछ ।
१० स्थानमा यात्रु सहायता कक्ष
चाडपर्वमा घर फर्किने यात्रु तथा सर्वसाधारणलाई सहजता प्रदान गर्न जिल्लाका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ । मेचीनगरका काँकडभिट्टा बसपार्क, चारआली चोक र धुलाबारी मोड, भद्रपुर बसपार्क, बिर्तामोडको पश्चिम बस स्ट्यान्ड, दमक बसपार्क, बुद्धशान्तिको बुधबारे चोक, अर्जुनधाराको बसपार्क, कनकाईको पश्चिम बस स्ट्यान्ड र गौरीगञ्ज बजारमा सहायता कक्ष सञ्चालन गरिने सुरक्षा योजनामा उल्लेख छ ।
६१ क्यूआरटी, २७ टोली पैदल गस्तीमा
प्रहरीले सुरक्षा निगरानी प्रभावकारी बनाउन विभिन्न तहका टोली परिचालन गर्नेछ । प्रहरी हवल्दारको कमान्डमा ६१ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी), ५६ स्थानमा पिकेट ड्युटी, २७ टोली पैदल गस्ती, १५ टोली मोबाइल गस्ती र तीन टोली स्ट्राइकिङ ड्युटीमा खटाइनेछ ।
त्यस्तै, मादक पदार्थ सेवन तथा लागूऔषध नियन्त्रणका लागि आठ स्थानमा नियमित चेकिङ र लामो दूरीका सवारीसाधन जाँच गर्न दुई स्थानमा विशेष चेकिङ गरिनेछ । ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ १७ स्थानमा सञ्चालन गर्ने योजना छ ।
सीमा क्षेत्रमा तस्करी र पटका नियन्त्रणमा जोड
चाडपर्वका बेला सीमा नाकाबाट हुन सक्ने चोरी, तस्करी तथा अवैध पटका र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी गर्नेछ । यसका लागि ४० टोली परिचालन गरिनेछ भने पटका तथा विष्फोटक पदार्थको बिक्री, वितरण र प्रयोग नियन्त्रण गर्न थप छ टोली खटाइनेछ ।
जुवातास, लंगुरबुर्जा, चोरी, लुटपाट र मादक पदार्थ सेवन नियन्त्रणका लागि आठ टोली परिचालन गरिनेछ । सूचना संकलन गर्न आठ टोली सादा पोसाकमा खटिनेछन् । धार्मिक स्थल तथा मेला–पर्वको सुरक्षाका लागि १९ टोली परिचालन गर्ने योजना छ ।
बैंक, बजार र राजमार्गमा समेत निगरानी
बैंक तथा वित्तीय संस्था, सुनचाँदी कारोबार हुने स्थान, बजार र राजमार्ग क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइनेछ । राजमार्गमा स्कर्टिङ, रात्रीकालीन चेकिङ तथा कर्डन एन्ड सर्च अभियान सञ्चालन गरिनेछ । आकस्मिक सभा, जुलुस र धर्नाजस्ता गतिविधिको व्यवस्थापनका लागि आठ टोली परिचालन गरिने सुरक्षा योजनामा उल्लेख छ ।
चाडपर्वका बेला हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान गरी अपराध नियन्त्रण गर्ने, यात्रुलाई सुरक्षित यात्रा सुनिश्चित गर्ने र सर्वसाधारणलाई शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउने अवस्था सिर्जना गर्ने प्रहरीको लक्ष्य छ ।
जिल्ला प्रहरी कार्यालयले तयार पारेको योजनाअनुसार दैनिक कुल १ हजार १९९ जना प्रहरी जनशक्ति परिचालन हुनेछ । यसबाट जिल्लाको शान्तिसुरक्षा कायम राख्नुका साथै सीमा क्षेत्रदेखि बजार, राजमार्ग र भीडभाड हुने स्थानसम्म निगरानी प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।


