कनकाई, २८ असोज । झापाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय नगरी कनकाईमा प्रधान कार्यालय रहेको ‘कनकाई खबर साप्ताहिक’ स्थापनाको आठ वर्ष पूरा गरी आजदेखि नवौँ वर्षमा प्रवेश गरेको छ। ‘खबरभित्रको खबर’ मूल नारासहित मोफसलबाट सुरु भएको यस सञ्चार माध्यमले व्यावसायिक र निष्पक्ष पत्रकारितामार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ।
नवौँ वर्ष प्रवेशको सुखद अवसरमा पत्रिकाका सम्पादक तथा प्रकाशक रामप्रसाद निरौलाले विशेष प्रकाशकीय सन्देश जारी गर्दै विगत आठ वर्षदेखि निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण पाठक, विज्ञापनदाता, लेखक, वितरक, सहकर्मी सञ्चारकर्मी तथा कर्मचारीप्रति आभार व्यक्त गर्नुभएको छ।
सम्पादक तथा प्रकाशक निरौलाले मोफसलबाट निष्पक्ष र व्यावसायिक पत्रकारिताको जग बसाल्दै प्रविधिमैत्री अनलाइन संस्करण ‘कनकाईखबर डटकम’ सम्मको यात्रा तय गर्नु चुनौतीपूर्ण भए पनि पाठकको अपार विश्वासले थप ऊर्जा प्रदान गरेको बताउनुभएको छ।
उहाँले आगामी दिनमा पनि शक्तिको प्रतिपक्षमा उभिँदै नागरिकका आवाजलाई बुलन्द पार्न र सत्य, तथ्य तथा निष्पक्ष समाचार सम्प्रेषण गर्न आफूहरू प्रतिबद्ध रहने उल्लेख गर्नुभएको छ।
स्थापनाकालदेखि नै स्थानीय मुद्दा, जनसरोकार र विकासका विषयलाई प्राथमिकतामा राख्दै आएको कनकाई खबरले क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्याउँदै आएको बताइएको छ।
नवौँ वर्ष प्रवेशसँगै पत्रिकाले पत्रकारिताका स्थापित मूल्य, मान्यता र व्यावसायिक धर्मलाई आत्मसात् गर्दै पाठकको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


