झापा, २९ असोज । देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा देशका बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र कोशी तथा बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । रातिको समयमा देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


