झापा, २९ असोज । गुल्मीमा भाउजुको हत्या गरेको आरोपमा प्रहरीले देवरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालिका गाउँपालिका–२, खोलाखर्क निवासी ४६ वर्षीय बलबहादुर खत्री र उनका ७६ वर्षीय बुवा भक्तबहादुर खत्री रहेका छन् ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका बलबहादुरले कुटपिट गर्दा घाइते भएकी ४२ वर्षीया लीला खत्रीको उपचारका क्रममा मृत्यु भएको हो । कु टपिटबाट गम्भीर घाइते भएकी लीलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको थियो । बुधबार बिहान करिब ११ बजे उनका छोरा हिराबहादुर खत्रीले अस्पतालबाट उनलाई आफ्नै इच्छाले घर लगेका थिए ।
घटनाको विषयमा शंका लागेपछि प्रहरीले लीलालाई जिल्ला अस्पताल गुल्मी, तम्घासमा स्वास्थ्य परीक्षणका लागि लगेको थियो। अस्पताल पुर्याइएकी उनलाई बुधबार दिउँसो २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनाको अनुसन्धानका लागि बलबहादुरसँगै उनका बुवा भक्तबहादुरलाई समेत पक्राउ गरेको जनाएको छ। लीलाको उपचारमा उनका अर्का देवर चन्द्रबहादुर खत्री संलग्न रहेको पनि प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


