झापा, २९ असोज । बडादसैँअन्तर्गत शारदीय नवरात्रको पाँचौँ दिन आज नवदुर्गामध्येकी पाँचौँ स्वरूप स्कन्दमाता देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाता देवीको पूजा गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार देवी स्कन्दमाताले संसारका सम्पूर्ण जीवमा नवचेतना प्रदान गर्नुहुन्छ। कमलको फूलमा विराजमान रहने भएकाले उहाँलाई पद्मासना देवीका नामले समेत चिनिन्छ।
सेतो वर्ण र सिंह वाहन भएकी स्कन्दमाताका चार हात रहेको धार्मिक ग्रन्थमा उल्लेख छ। उहाँको दाहिनेतर्फको माथिल्लो हातले काखमा रहेका पुत्र स्कन्दकुमार अर्थात् कार्तिकेयलाई सम्हालेको हुन्छ भने तल्लो हातमा कमलको फूल रहेको हुन्छ। त्यस्तै, देब्रेतर्फको माथिल्लो हात वरमुद्रामा र तल्लो हातमा पनि कमलको फूल सुशोभित रहेको वर्णन पाइन्छ।
स्कन्दमाता देवीको उपासना गर्दा भगवान् कार्तिकेयको समेत पूजा हुने धार्मिक विश्वास छ। देवीभागवत पुराणअनुसार सूर्यमण्डलकी अधिष्ठात्री देवीका रूपमा पूजिने स्कन्दमाताको आराधना गर्नाले भक्तजनले अलौकिक तेज र कान्ति प्राप्त गर्ने विश्वास गरिन्छ।
पौराणिक कथाअनुसार ब्रह्माजीबाट भगवान् शिवका पुत्रबाट मात्र मृत्यु हुने वरदान पाएका तारकासुरले तीनै लोकमा आतंक मच्चाएका थिए। त्यसपछि पार्वती र भगवान् शिवका पुत्रका रूपमा कार्तिकेयको जन्म भएको र उनले तारकासुरको वध गरी देवताहरूलाई मुक्ति दिलाएको प्रसङ्ग विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ।
स्कन्दमाताको पूजा आराधना गर्नाले मनोकामना पूरा हुने, मानसिक शान्ति प्राप्त हुने तथा मोक्षको मार्ग सहज बन्ने धार्मिक विश्वास रहिआएको छ। साथै, देवीको उपासनाले पारिवारिक सद्भाव र जीवनका चुनौती सामना गर्ने आत्मबल प्राप्त हुने मान्यता छ।
यस दिन भक्तजनले स्नान गरी शुद्ध वस्त्र धारण गरेर देवीको प्रतिमा वा कलश स्थापना गरी पूजा गर्ने परम्परा छ। पूजाका क्रममा पञ्चामृत, फूल, चन्दन, धूप, दीप, अक्षता, नैवेद्य तथा फलफूल अर्पण गरिन्छ। त्यसपछि देवीको वन्दना र स्तोत्र पाठ गरी आरती गर्ने तथा प्रसाद ग्रहण र वितरण गर्ने चलन छ।


