झापा, १० कात्तिक । चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटका सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापा तथा मातहतका कार्यालयले बरामद गरी नष्ट गरेका छन्।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नियमित गस्ती तथा चेकजाँचलाई तीव्रता दिने क्रममा विभिन्न सीमा नाका र चेकपोइन्टबाट पटका बरामद गरेको हो। बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले जनाएको छ।

गणका अनुसार बरामद गरी नष्ट गरिएका पटाकाको मूल्य ३ लाख १६ हजार ५९० रुपैयाँ बराबर रहेको छ। भारतबाट भन्सार छली अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको तथा लुकाइछिपाइ राखिएको अवस्थामा ती पटका बरामद गरिएको हो।
पटका बरामद गर्ने क्रममा ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। आवश्यक कारबाहीका लागि उक्त मोटरसाइकल सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
चाडपर्वका समयमा पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी, गस्ती तथा सवारीसाधन चेकजाँचलाई निरन्तरता दिइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टका अनुसार जिल्लामा सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण तथा चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन सशस्त्र प्रहरी परिचालनलाई प्रभावकारी बनाइएको छ।
सीमा क्षेत्रमा हुने अवैध आयात, चोरीपैठारी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न मातहतका कार्यालयलाई थप सतर्कताका साथ परिचालन गर्नुका साथै नियमित अनुगमनसमेत भइरहेको गणले जनाएको छ।



