झापा, ११ कात्तिक । देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहेको छ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा छ। बुधबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

बुधबार राति देशभर साधारणतया बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती र गण्डकीका हिमाली भूभागका थोरै स्थान तथा कोशी र बागमतीका पहाडी भूभाग, मधेस प्रदेश र कोशीको तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
बिहीबारदेखि मौसम थप प्रतिकूल बन्ने अनुमान गरिएको छ। बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिमका हिमाली भूभागमा साधारणतया बदली रहनेछ। कोशी र बागमतीका हिमाली भूभागका केही स्थान तथा अन्य हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्नेछ। कोशी, मधेस र बागमतीका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
बिहीबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ। कर्णालीका केही तथा सुदूरपश्चिमका थोरै स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ भने लुम्बिनीका पहाडी तथा तराई भूभागमा समेत भारी वर्षाको सम्भावना छ।
शुक्रबार र शनिबार पनि मौसममा सुधार नआउने पूर्वानुमान गरिएको छ। ती दिनमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र हिमपातको सम्भावना रहेकाले विशेष सावधानी आवश्यक रहेको महाशाखाले जनाएको छ।
महाशाखाले कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्ने भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। किसानलाई धानबाली भित्र्याउनेलगायत कृषि कार्य सम्भव भएसम्म बिहीबारअघि नै सम्पन्न गर्न सुझाव दिइएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकलाई यात्रा स्थगित गर्न वा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
प्रतिकूल मौसमका कारण चिसो बढ्ने, पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुने सम्भावना पनि छ। त्यसैले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ।



